बूढीगण्डकी बाढी: ६ पुल र ३५ घर बगायो, कम्तीमा १० जना सम्पर्कविहीन


बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ भने चुमनुब्री गाउँपालिका–३ मा करिब ३५ घरसमेत बगाएको छ। बाढीपछि कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।

त्यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगर क्षेत्रका करिब ३५ घर बगाएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुगेको जनाइएको छ।

बाढीका कारण पुलहरू बग्दा विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ। कम्तीमा १० जना सम्पर्कविहीन भएको खबरसँगै प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन चुनौतीपूर्ण बनेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण आउन बाँकी छ।