क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार (२५ जुलाई) ‘तेश्रो नेपाल फेस्टिवल–२०२६’ आयोजना हुँदैछ। लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा हुन लागेको यस महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
नेपाली कला-संस्कृति, गीत-संगीत, भेषभूषा, मौलिक खानाका परिकार, हस्तकला तथा विभिन्न नेपाली उत्पादनहरूको संरक्षण, संवद्र्धन र अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो।
भव्य सजावट र तयारी पूरा
मुल आयोजक समितिका संयोजक एवं क्लबका अध्यक्ष विश्व अधिकारीका अनुसार कार्यक्रम स्थल र वरपर नेपाली झण्डा, सांस्कृतिक ब्यानर तथा आकर्षक सजावटका साथ मञ्च तयार पारिएको छ।
ब्राम्पटन स्थित ‘सपर्स वर्ल्ड कम्प्लेक्स’को प्राङ्गणमा स्थानीय समय अनुसार दिउँसो १ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने महोत्सवमा ३० भन्दा बढी व्यावसायिक तथा सामाजिक स्टलहरू रहनेछन्। लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका महासचिव तथा समारोह समितिका सदस्य धर्म न्योपानेका अनुसार स्टलहरूमा विविध नेपाली खानाका परिकार तथा सांस्कृतिक सामग्रीहरू उपलब्ध हुनेछन्।
बहुसांस्कृतिक झाँकी र लाखेनाच मुख्य आकर्षण
महोत्सवमा नेपालका विभिन्न समुदाय—गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, र मधेशी लगायतका जातजातिका परम्परागत भेषभूषासहितको झाँकी, नृत्य र आकर्षक लाखेनाच प्रस्तुत गरिनेछ।
सर्वसाधारणका लागि प्रवेश र पार्किङ पूर्ण रूपमा निःशुल्क गरिएको छ। क्लबका कोषाध्यक्ष अनिल ज्ञवाली र उपाध्यक्ष श्याम अर्यालका अनुसार यस वर्षको महोत्सवमा १० हजारभन्दा बढी दर्शक तथा आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
विशिष्ट अतिथि र सांगीतिक धमाका
फेस्टिवलको औपचारिक उद्घाटन क्यानडाका लागि नेपाली राजदूत महामहिम भरतराज पौडेलले गर्नुहुनेछ। कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहाम म्याकग्रेगोर, संघीय सांसद सोनिया सिद्धु, अमन दीप, र एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
सांगीतिक कार्यक्रमतर्फ चर्चित लोक गायक खेम सेन्चुरी, सांगीतिक व्यक्तित्व चेतन सापकोटा, लोक गायिका देविका केसी, गायक मानसिंग खड्का, अर्जुन कुमार, बिन्दा परियार, र आशिर्वाद सुवेदी लगायत दर्जनभन्दा बढी कलाकारहरूले आ-आफ्नो विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।
यसअघि पनि लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा ब्राम्पटनमा पहिलो र दोस्रो नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न भइसकेका छन्।


प्रतिक्रिया