बाराको जीतपुर सिमरा–१ स्थित पथलैया चेकपोस्ट नजिकैबाट २३७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ।
अमलेखगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा १७ च २६३६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले २३७ किलो १७० ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार हिजो साँझ ५ः४० बजे चेकजाँचका लागि रोक्न खोज्दा चालकले गाडी नरोकी भगाएका थिए।
गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए।
त्यसपछि प्रहरीले जंगल क्षेत्र घेराबन्दी गरी खोजतलास गरे पनि चालक फेला परेनन्। घटनास्थलबाट चालक भागेको दिशातर्फ एउटा किप्याड मोबाइलसमेत फेला परेको थियो।
नियन्त्रणमा लिइएको गाडी जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित गाडी नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। फरार चालकको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया