गगनविरुद्ध बयान दिन धम्की दिएको आरोप, संसदीय छानबिनको माग


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर पार्टी सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोपमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आरोप गम्भीर रहेको भन्दै यसको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।

सापकोटाले शुक्रबार आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए रिहा गर्ने, नत्र फसाइदिने धम्की दिइएको उल्लेख गरेका छन्। सोही विषयलाई लिएर आङ्देम्बेले सरकारको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

उनले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका सापकोटालाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भएको भए त्यसलाई विधिको शासनमाथिको गम्भीर प्रहारका रूपमा लिनुपर्ने बताएका छन्।

आङ्देम्बेले सरकार इनम सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको छ वा नियोजित रूपमा कसैलाई फसाउने षड्यन्त्रमा लागेको छ भन्ने प्रश्नसमेत गरेका छन्।

उनले हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको भनिएको विषय, बयान तयार पार्ने प्रक्रिया र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकासमेत छानबिन हुनुपर्ने बताएका छन्।

राज्यका अनुसन्धानकारी निकायलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुने उनको भनाइ छ। सत्ता स्थायी नहुने तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकारलाई संविधान र विधिको शासनअनुसार अघि बढ्न आग्रह गरेका छन्।

लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको आङ्देम्बेको भनाइ छ।