सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यले आइतबार पनि सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको १२१औँ बैठकको निर्णयअनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू आइतबार पनि सञ्चालन हुने भएका हुन्। मंसिर १३ गते आइतबारदेखि लागू हुने गरी गाउँपालिकाले साताको सातै दिन सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार स्थानीय भौगोलिक अवस्था, इन्धन खपत तथा स्वास्थ्य सेवाको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। गाउँपालिकाको भौगोलिक बनावट र यहाँ सञ्चालन हुने सवारीसाधनमा पेट्रोल तथा अन्य इन्धनको प्रयोग सहरी क्षेत्रको तुलनामा कम हुने भएकाले इन्धन बचतका नाममा आइतबार बिदा दिइरहनु सान्दर्भिक नदेखिएको सूचनामा उल्लेख छ।
त्यस्तै, आइतबार स्वास्थ्य संस्था बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी उपचार सेवाबाट वञ्चित हुनुपर्ने र आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुनेछ।यद्यपि, जाडोयामलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म भने आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुने सूचनामा उल्लेख छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा हस्ताक्षरित सूचनामार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो। यस निर्णयसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीय बासिन्दाले आइतबारसमेत प्रशासनिक तथा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
दुर्गम भौगोलिक क्षेत्रका नागरिकलाई लक्षित गरी गरिएको यो व्यवस्थाले सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया