जलवायु परिवर्तनसँग जुध्न ‘रिचार्ज काठमाडौं’ अभियान सुरु


काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह’ को उद्घाटनसँगै ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गरेको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले संयुक्त रूपमा अभियानको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठ र मुख्यमन्त्री थापाले स्थानीय तहको पहलमा सुरु भएको अभियान प्रशंसनीय रहेको बताउँदै सङ्घीय र प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यवाहक मेयर डंगोलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अब योजना बनाउने मात्र नभई कार्यान्वयनमा जानुपर्ने बताइन्। ‘गरौँला–हेरौँला’ भनेर बस्ने समय नभएको उल्लेख गर्दै उनले त्यसैको सन्देश दिन जलवायु कार्य सप्ताह आयोजना गरिएको स्पष्ट पारिन्।

महानगरपालिकाभित्रका विद्यालयहरूमा पानी पुनर्भरण गर्न सकिने स्थानबारे अध्ययन भइसकेको जानकारी दिँदै उनले सोहीअनुसार कार्यक्रम अघि बढाइने बताइन्। जलवायु परिवर्तनका कारण उत्पन्न विपद् र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण आफ्ना क्षेत्रमा देखिएका असर र चुनौतीबारे अनुभव आदानप्रदान गरेका थिए।

भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका तथा काठमाडौं उपत्यकाका नागार्जुन, भक्तपुर, बूढानीलकण्ठ र चन्द्रागिरि नगरपालिकाका प्रमुखहरू कार्यक्रममा सहभागी थिए। त्यस्तै, बाराको निजगढ नगरपालिकाका प्रमुखले पनि जलवायु परिवर्तनका प्रभावबारे अनुभव साझा गरेका थिए।

‘रिचार्ज काठमाडौं अभियान’ मार्फत महानगरपालिकाले वर्षाको पानी पुनर्भरण गर्ने कार्यक्रमलाई अघि बढाउने लक्ष्य राखेको छ।