दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह आइतबार नयाँदिल्ली पुगेका छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत पुगेको छ। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछ।
भारत पुगेपछि प्रधानमन्त्री शाह होटल ताजमहल जानेछन्। त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भ्रमणको मुख्य कार्यक्रम भोलि मंसिर ७ गते हुनेछ। प्रधानमन्त्री शाहले बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुई नेताबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ।
भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।
वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ। साथै, सम्पन्न परियोजनाको संयुक्त उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।
सोही दिन अपराह्न ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। त्यसपछि अपराह्न ४ बजेर ५० मिनेटमा उनी नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित रहने र यसबाट दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया