मधेशमा सर्वदलीय सरकार बनाउने मुख्यमन्त्री यादवको घोषणा


मधेश प्रदेशमा अब सबै राजनीतिक दललाई समेटेर सरकार चलाउने तयारी भएको छ। नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराएर सर्वदलीय सरकार गठन गर्ने बताएका छन्।

मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले सबै दल मिलेर सरकार बनाउने आफ्नो चाहना रहेको बताए। आफ्नो नेतृत्वको सरकारमा सबै दल सहभागी हुने विश्वाससमेत उनले व्यक्त गरे।

मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै राजनीतिक दलहरूसँग छलफल अघि बढाउने उनको भनाइ छ। यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन पाएको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलको समर्थन जुटाउने प्रयास गर्ने बताए।

मुख्यमन्त्री यादवले सुस्त गतिमा रहेका विकास निर्माणका कामलाई तीव्रता दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने विषयलाई आफ्नो मुख्य प्राथमिकता बताएका छन्।

उनले निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।