नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने राजेन्द्र लिङ्देनको माग


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई पुनः सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताएका छन्। उनले राजनीतिक दलहरूकै भूमिकाका कारण नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको आरोपसमेत लगाएका छन्।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने बताए। धर्म र राजनीति एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै उनले दुवै सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे।

नेपालको धार्मिक, सांस्कृतिक र मौलिक पहिचानको संरक्षणका लागि सनातन हिन्दूराष्ट्र आवश्यक रहेको उनको भनाइ थियो। उनले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर राजनीतिक दलहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाए।

नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गरी धर्मनिरपेक्षताको निर्णय गरिएको भन्दै लिङ्देनले हिन्दूराष्ट्र पुनःस्थापनाको विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने बताए।

कार्यक्रममा राप्रपाकी सांसद खुश्बु ओलीले पनि हिन्दूराष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट आवाज उठाउनुपर्ने बताइन्। उनले संसद्मा राप्रपाले आवाज उठाउने र संसद्बाहिर धार्मिक गुरुहरूले यसका लागि दबाब सिर्जना गर्नुपर्ने धारणा राखिन्। साथै, मठमन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दूराष्ट्र स्थापनाका लागि दबाब दिन धार्मिक गुरुहरूसँग आग्रह गरिन्।