प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले नेपाल र भारतबीचको आपसी विश्वास, सहकार्य तथा साझेदारी अभिवृद्धि गर्ने अपेक्षा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको छ।
प्रधानमन्त्री शाह आज दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भ्रमणका अवसरमा शुभकामना व्यक्त गर्दै रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा भ्रमणले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
रास्वपाका अनुसार भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ।
भ्रमणबारे प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेलाई विस्तृत जानकारी गराएको पनि रास्वपाले जनाएको छ।
विज्ञप्तिमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको उल्लेख छ।


प्रतिक्रिया