धनुषाधाममा कटुवा पेस्तोलसहित ४० वर्षीया महिला पक्राउ


धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारिएको थियो।

पक्राउ परेकी महतोमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।