प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतको औपचारिक भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाउने भएका छन्।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी भोलि साँझ स्वदेश फर्किनेछन्।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नेछन्। प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सरकारका दैनिक प्रशासनिक तथा आवश्यक कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया