जनकपुरलाई जित्नैपर्ने दबाब, चितवनविरुद्ध टस जितेर ब्याटिङ गर्दै


नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । टस जितेर जनकपुरले चितवन राइनोजलाई पहिले फिल्डिङ गर्ने निम्तो दिएको छ ।

आजको खेलका लागि जनकपुरले टोलीमा एक परिवर्तन गरेको छ । लगातार खराब प्रदर्शन गर्दै आएका अनिल साहको स्थानमा सन्तोष कार्कीले मौका पाएका छन् ।

यस्तै, चितवनले पनि एक परिवर्तन गरेको छ । डान मोस्लीको स्थानमा डाविड मलान टोलीमा फर्किएका छन् ।

प्लेअफ सम्भावना कायम राख्न जनकपुरलाई आजको खेल जित्नैपर्ने दबाब छ । पराजित भए जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ । जित हासिल गरे पनि प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा निर्भर रहनुपर्नेछ ।

हाल ६ खेलबाट ४ अंक जोडेको जनकपुर अंकतालिकाको छैटौँ स्थानमा छ । समान ४ अंक रहेको कर्णाली याक्सले पनि चितवनसँग खेल्न बाँकी छ ।

५ खेलबाट ५ अंक जोडेको चितवनले आजपछि कर्णालीसँग पनि खेल्नेछ । दुवै खेल जिते चितवनले ९ अंक पुर्‍याउन सक्नेछ ।

आजको खेलमा चितवन विजयी भए कर्णाली याक्सको प्लेअफ सम्भावना पनि समाप्त हुनेछ । त्यसपछि चितवन, काठमाडौँ गोर्खाज र विराटनगर किंग्समध्ये दुई टोली प्लेअफमा पुग्ने समीकरण बन्नेछ ।

यसअघि नै पोखरा एभेन्जर्स प्लेअफ दौडबाट बाहिरिसकेको छ भने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।