कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।
काठमाडौँका लागि रासिद खानले अविजित ३५ रन बनाए । उनले ३१ बलमा ५ चौका प्रहार गरे । दुसान हेमन्थाले २१ रनको योगदान दिए । एक समय ४८ रनमै ५ विकेट गुमाएको काठमाडौँका लागि रासिद र हेमन्थाले छैटौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । यद्यपि, रासिदले अन्तिमसम्म क्रिजमा रहेर पनि टोलीलाई जित दिलाउन सकेनन् ।
काठमाडौँका साम हिजलेटले ११, सन्तोष यादवले १०, आदिल आलमले ८ र कप्तान करण केसीले ८ रन बनाए । भिम शार्की र सहान अराचिगेले भने खाता खोल्न सकेनन् ।
सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए भने स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुरुवातमै ८ रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रले सम्हालेका थिए ।
दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए । उनले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । आरिफले १६ रन बनाए । यस्तै, दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौँ विकेटका लागि पनि ५४ रनको साझेदारी गरे । रत्नायके २३ बलमा ३ चौकासहित २६ रनमा अविजित रहे ।
काठमाडौँका जहान्दाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।
जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए । दुई अर्धशतक पूरा गर्ने उनी प्रतियोगिताका दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौँका रासिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन् ।
जितसँगै सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोलीले लिग चरणका सबै खेल खेलिसकेको छ । अब लुम्बिनी लायन्स वा काठमाडौँ गोर्खाजमध्ये एक टोली आफ्नो अन्तिम खेलमा पराजित भए सुदूरपश्चिम शीर्ष दुईमा रहनेछ ।
लगातार चार खेल जितेको काठमाडौँले भने पहिलो हार बेहोरेको छ । ६ खेलबाट ८ अंक जोडेको काठमाडौँ तेस्रो स्थानमा छ । उसले आइतबार पोखरा एभेन्जर्ससँग लिग चरणको अन्तिम खेल खेल्नेछ । उक्त खेल जिते काठमाडौँसँग शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने सम्भावना कायम रहनेछ ।

प्रतिक्रिया