नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट ३ हजार ४१४ जना नेता, जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका प्रतिनिधि सहभागी हुने भएका छन्।
भेलाको तयारीलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक बसेको थियो। बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिको अवस्था, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे समीक्षा गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए।
पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
संगठन विभाग प्रमुख ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश तथा प्रवासका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।
त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।
काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
भेलालाई व्यवस्थित बनाउन सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका काम अघि बढाइएको ढकालले जानकारी दिए।
यातायात व्यवस्थापन सहज बनाउन एमालेले सहभागी नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।
एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई संगठनात्मक एकता सुदृढ गर्ने, पार्टीभित्र साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया