प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न निर्देशन दिएका छन्।
शुक्रबार चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले भ्रमणलाई नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रित गर्न निर्देशन दिएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीले चीनबाट प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न आग्रह गरेका छन्।
भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी नेपालको विकास र समृद्धिमा योगदान पुर्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने प्रधानमन्त्रीको जोड रहेको बुर्लाकोटीले बताए।
उनले भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा भने छलफल नहुने र यस विषयमा नेपालको आधिकारिक धारणा यथावत् रहने स्पष्ट पारे।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल नोभेम्बर १५ देखि २६ सम्म चीन भ्रमणमा रहनेछ। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा अध्ययन तथा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा सहभागी हुनेछन्।

प्रतिक्रिया