राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो १२ बजे हुने पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुनेछन्। समान ८ अंक जोड्दै तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको खेलले शीर्ष चारमा स्थान सुरक्षित गर्ने टोलीको टुंगो लगाउनेछ।
त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर र चितवन भिड्नेछन्। दुवै टोलीका लागि प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ।
५ खेलबाट ५ अंक जोडेको चितवनलाई प्लेअफ दौडमा कायम रहन बाँकी दुवै खेल जित्नुपर्ने अवस्था छ। यता, ५ खेलबाट ४ अंक मात्र जोडेको जनकपुरले आज जित हासिल गरे ६ अंक पुर्याउनेछ। तर, प्लेअफमा पुग्न जनकपुरले आफ्नो जितसँगै अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्नेछ।
आजका दुवै खेलले एनपीएलको प्लेअफ समीकरणलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया