नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको प्लेअफ यात्रा समाप्त भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखरा प्लेअफ दौडबाट बाहिरिएको हो।
पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरको जितमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १३२ रन बनाएको थियो। पोखराका ओपनर युवराज सामराले ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा टोलीले सामान्य योगफल मात्रै बनाउन सक्यो।
यो हारसँगै ६ खेलबाट २ अंक जोडेको पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। प्रतियोगितामा पोखराले अब काठमाडौं गोर्खाजसँग अन्तिम खेल खेल्न बाँकी छ।
यसअघि पोखराले पाँच खेलमध्ये एकमा मात्रै जित निकालेको थियो। पछिल्लो खेलमा कर्णाली याक्सलाई ६३ रनले हराउँदै लयमा फर्किएको पोखरा विराटनगरसँग भने पराजित भयो।
यता, यस जितसँगै विराटनगर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया