‘रामायण’लाई टक्कर दिँदै ‘बाटुलो जून’


अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत नेपाली चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। भारतीय चलचित्र ‘रामायण’को प्रदर्शनपछि नेपाली हलमा देखिएको प्रतिस्पर्धाबीच ‘बाटुलो जून’ले दर्शकको राम्रो साथ पाएको छ।

भुवन केसीको निर्माण तथा निर्देशनमा बनेको चलचित्रले देशभर २६२ भन्दा बढी शो पाएको छ। वितरक करण श्रेष्ठ ‘क्रेजी’का अनुसार बिहान ६ बजेदेखिका शोमा दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो। बिहान ११ बजेसम्म २०० भन्दा बढी शो हाउसफुल भएको र चलचित्रले ६५ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको उनको दाबी छ।

उनका अनुसार पहिलो दिनको व्यापार डेढ करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

निर्माता सरोज न्यौपानेले पनि बिहान ११ बजेसम्म चलचित्रले ६२ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको बताएका थिए। उनले एफक्युब सिनेमाको हल भ्रमणका क्रममा बक्स अफिसको लाइभ तथ्यांकसमेत देखाएका थिए।

प्रदर्शनअघि नै टिजर र तीन गीतका कारण चर्चामा रहेको चलचित्रमा अनमोलको फरक लुक्स र प्रिन्सीको अभिनयले दर्शकको ध्यान तानेको निर्माण पक्षको विश्वास छ।

गत साता भारतीय चलचित्र ‘रामायण’ले नेपाली हलमा राम्रो पकड बनाएको थियो। त्यसबीच प्रदर्शनमा आएको ‘बाटुलो जून’ले शो संख्या र दर्शक उपस्थितिमा प्रतिस्पर्धात्मक सुरुवात गरेको प्रदर्शकहरूको दाबी छ।

पहिलो दिनको व्यापारले अनमोल केसीको चलचित्र करियरकै ठूलो ओपनिङ हुन सक्ने अपेक्षा गरिएको छ।