बिचौलिया इनम सापकोटाको बयान भन्दै सार्वजनिक भएको अडिओमा पार्टी सभापति गगन थापाको नाम जोडिएपछि नेपाली कांग्रेसले सरकारविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने चेतावनी दिएको छ। कांग्रेसको आधिकारिकता विवादसँग जोडिएको १८ करोड रुपैयाँ लेनदेनको आरोप र थापालाई पक्राउ गर्ने प्रयास भइरहेको चर्चाले पार्टीभित्र तरंग पैदा गरेको हो।
यसै विषयमा छलफल गर्न कांग्रेसले आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल हुने सहमहामन्त्री रामहरि खतिवडाले जानकारी दिए।
खतिवडाले सभापति थापालाई पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गर्दै सरकारले कांग्रेसको आवाज कमजोर बनाउन पक्राउको अफवाह फैलाएको आरोप लगाए। पञ्चायत र राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको कांग्रेस सरकारको धम्कीबाट नडराउने उनको भनाइ छ।
महामन्त्री उदयशमशेर राणाले पनि सभापति थापामाथि प्रतिशोधपूर्ण कदम चालिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्। उनले त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकार आफू र सभापति थापालाई पक्राउ गर्ने प्रयासमा रहेको दाबी गरेका छन्। यही प्रकरणमा साइबर ब्युरोले उनलाई बोलाएको छ। उनले १८ करोड रुपैयाँको विषयलाई लिएर प्रधानमन्त्री र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले आफूहरूलाई निशाना बनाएको आरोपसमेत लगाए।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले १८ करोड रुपैयाँ प्रकरणमा पार्टीमाथि उठेका प्रश्नको सामना गर्न र जुनसुकै छानबिनका लागि तयार रहेको बताएका छन्। उनले सार्वजनिक अडिओ, बयान र आरोपबारे स्वतन्त्र, निष्पक्ष तथा विधिसम्मत अनुसन्धान गर्न माग गरेका छन्।
शर्माले बिचौलियाको मोबाइल प्रहरीको नियन्त्रणबाट प्रधानमन्त्रीका सल्लाहकारसम्म पुगेको भन्ने समाचार सार्वजनिक भएको विषयमा पनि प्रश्न उठाएका छन्। अनुसन्धानका क्रममा बरामद भएको मोबाइलमा के थियो र त्यसमा किन हस्तक्षेप भयो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
कांग्रेसले प्रधानमन्त्री कार्यालय र उच्चपदस्थ अधिकारीको संलग्नतामा अनुसन्धानका प्रमाण नष्ट गर्ने तथा राज्यका निकाय दुरुपयोग गर्ने गतिविधि भएको आरोपसमेत लगाएको छ। पार्टीले यी आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ।
यसअघि बसेको पदाधिकारी बैठकले सरकारका गतिविधिबारे ६ बुँदे धारणा सार्वजनिक गर्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। पार्टीलाई बदनाम गर्ने प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसले जनाएको छ।
महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाउँदै विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सम्झौता नगर्ने बताएका छन्। पार्टीले कानुनी प्रतिवादका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा परामर्श प्रक्रिया अघि बढाउने र संसद्मा आवश्यक पहल गर्न नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाह र सभापति थापाबीच सामाजिक सञ्जालमा समेत सवालजवाफ भएको थियो। प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको गलत समय आउने भन्दै चेतावनी दिएका थिए। त्यसको जवाफमा थापाले आफूलाई तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताएका थिए।

प्रतिक्रिया