साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो।
यो जितसँगै लुम्बिनीले जारी सिजनमा खेलेका तीनवटै खेल जितेको छ। चितवन राइनोजविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको लुम्बिनी चार खेलबाट ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
पाँच खेल खेलेको जनकपुरको भने यो तेस्रो हार हो। प्लेअफमा स्थान बनाउन जनकपुरले अब बाँकी दुवै खेल जित्नुपर्ने भएको छ।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक ३३ रन बनाए। उनले २० बलमा तीन छक्का प्रहार गरे। नवौँ नम्बरमा ब्याटिङ गर्न आएका आदित्य महता २४ बलमा चार छक्कासहित ३० रन बनाएर अविजित रहे।
एक समय ५६ रनमै ६ विकेट गुमाएको जनकपुरलाई हर्मीत र आदित्यले सम्हाल्ने प्रयास गरेका थिए। यी दुईले आठौँ विकेटका लागि ४३ रनको साझेदारी गरे। तर १८औँ ओभरमा हर्मीत आउट भएपछि जनकपुरको जितको सम्भावना कमजोर बनेको थियो।
त्यस्तै सेफ हसनले २५ बलमा चार चौकासहित २८ रन बनाए भने ओपनर तृतराज दासले १८ रन जोडे। जिमी निशमले नौ, विशाल सुशीलङले चार, परभेज हुसेन इमोनले एक र अनिल साहले एक रन बनाए। अभिषेक तिवारीले खाता खोल्न सकेनन्।
लुम्बिनीका लागि डार्सी सर्टले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिए। शेर मल्ल र तिलक भण्डारीले समान दुई तथा रुबेन ट्रम्पलम्यानले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे। निरोशन डिकवेलाले २७ बलमा २७ रन जोडे।
त्यस्तै दिलीप नाथले १६ बलमा २५ रन बनाए भने आसिफ शेखले २१ रनको योगदान दिए। शामिन हुसेनले १३ रन जोडे। ओपनर डार्सी सर्ट पहिलो बलमै आउट भएका थिए।
रुबेन ट्रम्पलम्यानले आठ बलमा दुई छक्कासहित १५ रन बनाए भने सन्दीप जोराले चार बलमा दुई चौकासहित नौ रन जोडे।
जनकपुरका लागि विशाल सुशीलङ र राहुल यादवले समान दुई विकेट लिए। कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए।
लुम्बिनीले अन्तिम दुई ओभरमा २४ रन जोड्दै आफ्नो स्कोर १४९ पुर्याएको थियो।

प्रतिक्रिया