इनम सापकोटासँग नाम जोडिएपछि गगनले दिए यस्तो प्रष्टीकरण


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो नाम जोडेर चरित्रमाथि प्रश्न उठाइएको भन्दै त्यसको खण्डन गरेका छन्। उनले आफ्नो नैतिकता र इमानदारीमा कुनै सम्झौता नगरेको दाबी गरेका छन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर आफूलाई बदनाम गर्न खोजिएको बताएका हुन्। आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको उल्लेख गर्दै उनले आफ्नो हातमा कुनै दाग नरहेको र मनमा कुनै खराब नियत नभएको बताएका छन्।

‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सधैँ सफा छन्। यति नभएको भए लड्ने आँट आउँथ्यो ?’

थापाले विगतमा शक्तिशाली सरकारका गलत कामको समेत विरोध गर्दै आएको स्मरण गराएका छन्। आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा पनि गलत कामविरुद्ध बोल्न नछाडेको उनको भनाइ छ।

‘म आज मात्र हो ? योभन्दा बलियो सत्ता भएको समयमा गलत गरेको बेला त्यससँग लडेर प्रश्न गर्दै आएको छु। आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ,’ उनले भनेका छन्।

आफ्नो इमानदारीमा सम्झौता गरेको भए गलत कामविरुद्ध प्रश्न उठाउने आँट नआउने उनको दाबी छ। उनले आफूविरुद्ध पटक–पटक विवाद सिर्जना गरिएको र चरित्रमाथि प्रश्न उठाइए पनि त्यसको सामना गर्दै अघि बढेको बताएका छन्।

‘मेरो वरिपरि विवाद ल्याइएको छ। व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ। प्रत्येक पटक लडेर आएको हुँ म, प्रत्येक पटक बाँचेर आएको हुँ। ढलेको छैन नि म,’ उनले भनेका छन्।

थापाले आफूलाई अघि बढ्न समर्थक तथा शुभेच्छुकको साथसँगै आफ्नो नैतिक बलले सहयोग गरेको बताएका छन्। आफू स्वच्छ र सही ठाउँमा उभिएकाले कुनै पनि चुनौतीको सामना गर्न सक्ने उनको भनाइ छ।

‘तपाईंहरूको शुभेच्छा, आशीर्वाद आफ्नो ठाउँमा छ। सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो। यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठीक ठाउँमा उभिएको छु। त्यसैले ढुक्क रहनुस्,’ उनले भनेका छन्।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा इनम सापकोटाको नाम जोडिएपछि थापाले सार्वजनिक रूपमा आफ्नो धारणा राखेका हुन्। यसअघि पनि उनले आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका थिए।