पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने बताएका हुन्।
रोनाल्डोले नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय खेलपछि पोर्चुगलको जर्सीमा मैदान उत्रिने छैनन्। उनले राष्ट्रिय टोलीको चर्चित जर्सी नम्बर ७ नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा उनले पोर्चुगलका लागि खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको उल्लेख गरेका छन्। राष्ट्रिय टोलीका लागि आफूले सक्दो योगदान दिएको बताउँदै उनले समर्थक, परिवार, प्रशिक्षक, सहकर्मी तथा टोलीका सदस्यप्रति आभार व्यक्त गरेका छन्।
‘पोर्चुगल सधैँ मेरो हृदयमा रहनेछ,’ उनले आफ्नो सन्देशमा लेखेका छन्।
सन् २००३ अगस्ट २० मा काजाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेलेका छन्। उनले ती खेलमा १४६ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा ठूलो उपलब्धि सन् २०१६ को युरो कप उपाधि हो। उनको कप्तानीमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप जितेको थियो। फ्रान्सविरुद्धको फाइनल खेलमा चोटका कारण उनी मैदानबाट बाहिरिनुपरे पनि टोलीलाई जित दिलाउन बेन्चबाटै खेलाडीलाई हौसला दिएका थिए।
त्यसपछि पोर्चुगलले सन् २०१९ र २०२५ मा यूईएफए नेसन्स लिगको उपाधि जित्दा पनि रोनाल्डो टोलीका महत्वपूर्ण सदस्य थिए। उनले आफ्नो करियरमा छ पटक युरोपियन च्याम्पियनसिप र छ पटक फिफा विश्वकपमा पोर्चुगलको प्रतिनिधित्व गरेका छन्।
रोनाल्डोको संन्यास घोषणा यस्तो समयमा आएको छ, जतिबेला उनको पोर्चुगलका मुख्य प्रशिक्षक जोर्जे जेसुससँग सम्बन्धमा तनाव देखिएको थियो। गत सेप्टेम्बरमा नर्वेविरुद्धको खेलमा उनलाई मैदानमा उतारिएको थिएन। त्यसपछि डेनमार्कविरुद्धको खेलमा पनि सुरुआती टोलीमा नराखिने जानकारी पाएपछि उनी टोलीको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए।
उक्त घटनापछि रोनाल्डोले आफ्नो व्यवहारका लागि माफी माग्दै त्यसको जिम्मेवारी लिने बताएका थिए। प्रशिक्षक जेसुसले भने रोनाल्डो राष्ट्रिय टोलीमा फर्किन चाहे ढोका खुला रहेको बताएका थिए। तर, अब रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाटै बिदा लिने निर्णय गरेका छन्।
रोनाल्डोको बिदाइसँगै पोर्चुगलले आफ्नो इतिहासकै सफल खेलाडीमध्ये एकलाई राष्ट्रिय टोलीबाट गुमाउनेछ। क्लब फुटबलमा भने उनले खेल जारी राख्नेछन्। उनी हाल साउदी अरबको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

प्रतिक्रिया