प्रदर्शनको मुखैमा ‘पाँच पाण्डव’ मा विवाद, अन्ततः रोकावट हट्यो


प्रदर्शनको तयारी पूरा भइसकेको फिल्म ‘पाँच पाण्डव’ अन्तिम समयमा रोकिएको आशंकाबीच शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। सञ्चार मन्त्रालयबाट बुकिङ रोक्न भनिएको खबरपछि अन्योलमा परेको फिल्मको प्रदर्शनबारे निर्माण पक्ष र सम्बन्धित अधिकारीबीचको छलफलपछि अवरोध नरहेको स्पष्ट भएको हो।

बुधबार साँझ सञ्चार मन्त्रालयबाट निर्माण टिमलाई फोन गरी तत्कालका लागि अग्रिम बुकिङ रोक्न र फिल्म प्रदर्शन रोकिएको सम्बन्धमा पत्र बुझ्न बिहीबार मन्त्रालय आउन भनिएको थियो। त्यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन अनुमति दिँदै युनिभर्सल सर्टिफिकेट दिइसकेको थियो।

सेन्सर बोर्डबाट अनुमति पाइसकेको फिल्मको प्रदर्शन रोक्न खोजिएको खबर सार्वजनिक भएपछि फिल्मकर्मीहरूले सरकारी हस्तक्षेपमाथि प्रश्न उठाएका थिए। यसैबीच, फिल्मको प्रदर्शनलाई लिएर बिहीबार बिहान निर्माण पक्ष र सेन्सर बोर्डका अधिकारीबीच छलफल भएको थियो।

छलफलपछि केन्द्रीय चलचित्र जाँच समितिका विज्ञ सदस्य मनोज पण्डितले फिल्म प्रदर्शनमा अब कुनै अवरोध नरहेको बताए। उनका अनुसार फिल्मको विषयवस्तुलाई लिएर एउटा पक्ष असन्तुष्ट भएपछि विवाद उत्पन्न भएको थियो।

पण्डितले यस घटनाले तीनवटा विषय स्पष्ट पारेको बताए। उनका अनुसार केन्द्रीय चलचित्र जाँच समितिको निर्णय आधिकारिक र अन्तिम हुने, सरकारले फिल्म प्रदर्शनमा अवरोध नगरी आवश्यक वातावरण बनाउनुपर्ने र फिल्मकर्मीले संवेदनशील विषयवस्तुको प्रचार गर्दा संयमता अपनाउनुपर्ने पाठ यस घटनाले दिएको छ।

यता फिल्मका लेखक सुशील पौडेलले फिल्ममा कुनै धर्म वा सम्प्रदायलाई हानि पुर्‍याउने, अपमान गर्ने वा तथ्य बङ्ग्याउने काम नगरिएको दाबी गरेका छन्। महाभारतका पात्रलाई फिल्ममा बिम्बका रूपमा प्रयोग गरिएको बताउँदै उनले विरोध गर्नुअघि फिल्म हेर्न आग्रह गरेका छन्।

उनले फिल्म हेरेपछि पनि चित्त नबुझे प्रश्न उठाउन सकिने तर विषयवस्तु नहेरी विरोध नगर्न आग्रह गरेका छन्।