सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा आज बिहान ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको छ भने मृतकको पहिचान र आफन्तको खोजी भइरहेको छ।