सभापति गगन थापालाई पक्राउ गरे कांग्रेस चुप लागेर बस्दैन : उदयशमशेर राणा


नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास भए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले मध्यस्थकर्ता इनाम सापकोटाको बयानका आधारमा सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे।

“सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन। त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ,” उनले भने।

राणाले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको आरोप लगाउँदै प्रतिशोधपूर्ण कदमको प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे।

उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन्।