दोस्रो विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण बिहीबारदेखि पुनः सुरु हुँदैछ। लिग चरणका खेलहरू निर्णायक मोडमा पुग्दै गर्दा अब हुने प्रतिस्पर्धाले प्लेअफको समीकरणलाई थप रोमाञ्चक बनाउने देखिएको छ।
बिहीबारदेखि शनिबारसम्म हुने पाँच खेलले प्लेअफमा पुग्ने टोलीको टुंगो नलगाए पनि कम्तीमा एउटा टोलीको प्लेअफ यात्रा समाप्त हुने सम्भावना छ। त्यसैले बाँकी खेलहरू सबै टोलीका लागि महत्त्वपूर्ण हुनेछन्।
हालसम्म १३ खेल सम्पन्न हुँदा साविक विजेता लुम्बिनी लायन्स ५ अंकसहित अंकतालिकाको शीर्षस्थानमा छ। विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान ४ अंकसहित दोस्रोदेखि पाँचौँ स्थानमा छन्। यी टोली नेट रनरेटका आधारमा छुट्टिएका छन्।
चितवन राइनोज ३ अंकसहित छैटौँ, काठमान्डु गोर्खाज २ अंकसहित सातौँ स्थानमा छन्। तीन खेल खेलेको पोखरा एभेन्जर्स भने अहिलेसम्म अंकविहीन हुँदै तालिकाको पुछारमा छ।
बिहीबारका खेल : लुम्बिनी–जनकपुर र काठमान्डु–विराटनगर
बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ। पछिल्ला दुई संस्करणका विजेताबीचको यो प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पछिल्ला नौ खेलदेखि अपराजित छ। गत सिजनका तीन प्लेअफ खेलसमेत जोड्दा लुम्बिनीको अपराजित यात्रा कायम छ। चितवनसँगको खेल वर्षाका कारण रद्द हुनुबाहेक टोलीको प्रदर्शन सन्तोषजनक रहेको छ। जनकपुरविरुद्ध जित निकाल्न सके लुम्बिनी प्लेअफको थप नजिक पुग्नेछ।
उता, जनकपुरले सुरुआती खेल गुमाए पनि त्यसपछि लगातार दुई जित निकालेको छ। विराटनगरसँग भने टोली अन्तिम बलमा दुई रनले पराजित भएको थियो। कप्तान हरमित सिंहको टोली पनि लय कायम राख्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ।
बिहीबारको दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्।
विराटनगर पछिल्लो खेलमा जनकपुरलाई अन्तिम बलमा पराजित गरेपछि उत्साहित छ। टोलीका लागि एन्ड्रे रसेलको प्रदर्शन महत्त्वपूर्ण बनेको छ। विराटनगरमा आबद्ध भएपछि लगातार दुई खेलमा प्लेयर अफ द म्याच बनेका रसेल ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली देखिएका छन्।
काठमान्डुले पनि पछिल्लो खेलमा कर्णाली याक्सलाई १८१ रनको लक्ष्य पछ्याउँदै चार विकेटले पराजित गरेको थियो। त्यसअघि जनकपुरसँगको हारपछि दबाबमा रहेको टोली उक्त जितसँगै लयमा फर्कने प्रयासमा छ। दुवै टोली यसअघि दुईपटक आमनेसामने हुँदा एक–एक खेल जितेका छन्।
शुक्रबार : सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा
शुक्रबार पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन्।
विराटनगरसँगको पछिल्लो खेल गुमाएपछि सुदूरपश्चिम दबाबमा छ। टोलीले यसअघि दुई सिजनमा लिग चरणमा एक–एक खेल मात्र गुमाएको थियो। तर यसपटक दुई हार बेहोरिसकेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोलीका लागि अबको खेल जित्नैपर्ने दबाब छ।
कर्णाली याक्सले भने सुरुआती दुई खेलमा जित निकाल्दै राम्रो सुरुआत गरेको थियो। काठमान्डुसँगको पछिल्लो खेलमा पराजित भए पनि दक्षिण अफ्रिकी ब्याटर डेविड मिलरको आगमनले टोलीको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ। यसअघिका संस्करणमा भने सुदूरपश्चिमले कर्णालीलाई पराजित गरेको थियो।
शुक्रबारकै दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।
पोखरा यस सिजनका तीनवटै खेलमा पराजित भएको छ। अहिलेसम्म प्लेअफमा पुग्न नसकेको पोखराका लागि यसपटक पनि चुनौती थपिएको छ। कप्तान कुशल भुर्तेलले टोलीको लगातार हारको कारण पहिचान गर्न कठिन भइरहेको बताएका छन्। अबको खेलमा जित निकाल्न नसके पोखराको प्लेअफ सम्भावना निकै कमजोर बन्नेछ।
यता, चितवनको प्रदर्शन मिश्रित छ। टोलीले एक खेल जितेको छ भने एक खेलमा पराजय बेहोरेको छ। अर्को खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो। चितवनका लागि पनि दुई अंक महत्त्वपूर्ण हुने भएकाले पोखराविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।
शनिबार : काठमान्डु र लुम्बिनी भिड्ने
तेस्रो विश्रामअघि शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। अंकतालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने काठमान्डु जित निकाल्दै प्लेअफको दौडमा फर्कने प्रयासमा हुनेछ।
बाँकी खेलमा प्राप्त हुने नतिजाले अंकतालिकाको समीकरणमा ठूलो फेरबदल ल्याउन सक्नेछ। विशेषगरी समान चार अंक भएका चार टोलीबीचको प्रतिस्पर्धाले प्लेअफको दौड थप रोचक बनाउने देखिन्छ।

प्रतिक्रिया