नजिकिँदै गरेको तिहारमा देशका अधिकांश स्थानमा मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको छ।
मौसम विज्ञान विभागले कात्तिक १९ देखि २३ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मौसममा उल्लेख्य परिवर्तन नहुने जनाएको छ। विभागका अनुसार एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि त्यसले जनजीवनमा खासै प्रभाव पार्ने देखिएको छैन। तराई–मधेश, उपत्यका तथा खोँचहरूमा बिहानपख हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
यस वर्ष कात्तिक २२ गते काग तिहार परेको छ भने २५ गते भाइटीका मनाइँदैछ। तिहार अवधिभर लगातार वा व्यापक वर्षाको सम्भावना नरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन्।
मौसम अनुकूल रहने देखिएकाले तिहार मनाउन र धान काट्ने तयारीमा रहेका किसानलाई सहज हुने उनको भनाइ छ।
यद्यपि, घमाइलो मौसमसँगै वायु प्रदूषण बढ्ने जोखिमप्रति पनि उनले सचेत गराएका छन्। जाडोयाममा वर्षा कम हुने र हावाको बहाव कमजोर हुने भएकाले उद्योग, कलकारखाना, सवारीसाधन, कृषि गतिविधि तथा पूर्वाधार निर्माणबाट निस्कने प्रदूषित कण वायुमण्डलमै जम्मा हुँदा प्रदूषण बढ्न सक्ने उनको भनाइ छ।

प्रतिक्रिया