साहित्य र कलाको इतिहास समेटिएको कृति सार्वजनिक


सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पहिलो पटक औपचारिक रुपमा पुस्तक विमोचन भएको छ ।

महाकुलुङ गाउँपालिकाको साहित्य र कलाको इतिहासलाई समेटेर लेखिएको “महाकुलुङको साहित्य र कलाको इतिहास एवम् व्यक्तित्व परिचय” नामक कृति विमोचन गरिएको हो ।

यो कृति महाकुलुङ गाउँपालिकाभित्र औपचारिक रुपमा विमोचन भएको पहिलो कृति हो ।

विमोचित कृति साहित्यकार मनुहाङ किराँती “सोलु” को पाँचौ कृति हो । किराँतीले महाकुलुङ भित्रको साहित्यलाई उजागर गर्न विगत २०८० सालदेखि निरन्तर व्यक्तिगत लगानी र सक्रियतामा साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन्। किराँतीले २०८० साल वैशाख १८ गते महाकुलुङव्यापी पालिकाकै पहिलो साहित्यिक कार्यक्रमको रुपमा कविता र गजल लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेका थिए। २०८१ साल असोज २८ गते रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका मन बहादुर कुलुङ र लेखककी आमा ७४ वर्षीय थेप्ली मनि छेन्छोलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

त्यसैको निरन्तरता स्वरुप महाकुलुङको तेस्रो साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अजय अलंकारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङ विशिष्ट अतिथि थिइन् ।

कार्यक्रममा पुस्तक विमोचनसँगै कविता प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । प्रतियोगितामा पानस कुलुङ प्रथम, केशव कुलुङ द्वितीय र अनुुसा कुलुङ तृतीय भए ।