सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ बजे डाइनास्टिक एयर र फिस्टेल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए। मृतकको पहिचान भने खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका एक यात्रुलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया