इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। ओपनर लोकेश बमले ४० बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन जोडे।
एनपीएलको इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो।
ओपनर शेहान जयसूर्या टोलीको स्कोर २ रन हुँदा आउट भएपछि क्रिजमा आएका इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे। जारी सिजनमा यो पहिलो शतकीय साझेदारी हो।
त्यसपछि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। उनले २९ बलमा २ चौका र ५ छक्कासहित अविजित ५२ रन बनाए। शुभम रञ्जाने ७ रनमा नटआउट रहे।
जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।

प्रतिक्रिया