नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ। दुवै पार्टीले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा राख्ने निर्णय गरेका छन्।
कात्तिक १७ गते भएको सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहनेछ।
पार्टीले तत्कालका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्ने कार्यनीति तय गरेको छ।
सहमतिपत्रमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख छ। यद्यपि, समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने र सडक, संसद् तथा सरकारलगायतका सबै मोर्चालाई आन्दोलनको मोर्चा बनाइने जनाइएको छ।
दुवै पार्टीले आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति गरेका छन्। त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा समायोजन गरिनेछ।
त्यस्तै, सबै तहका पार्टी समिति र जनसङ्गठनमा पनि सहमतिका आधारमा समायोजन गरिने र उक्त प्रक्रिया मङ्सिर मसान्तभित्र सम्पन्न गर्ने सहमतिपत्रमा उल्लेख छ।
पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुनेछ। सिद्धान्त र विचारलगायतका विषयमा रहेका मतभेदलाई निरन्तर छलफलमार्फत समाधान गर्दै जाने र अन्तिम निष्कर्ष एकता राष्ट्रिय महाधिवेशनबाट निकाल्ने सहमति पनि भएको छ।

प्रतिक्रिया