काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका ३३ स्थान तोकेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो। साथै, प्लास्टिकजन्य फूल तथा माला बिक्री वितरणमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ।
महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा जफत गरिनेछ।
तोकिएका बिक्री स्थलमा नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोडलगायतका क्षेत्र छन्।
त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ।
महानगरले स्वदेशी फूलको बजार प्रवर्द्धन तथा बिक्री वितरण व्यवस्थित बनाउन व्यवसायी र सर्वसाधारणलाई तोकिएका स्थानबाटै कारोबार गर्न आग्रह गरेको छ।

प्रतिक्रिया