निर्यात बढ्दा पनि नेपालको व्यापार घाटा साढे ५ खर्ब नाघ्यो


चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको निर्यात ५७.०३ प्रतिशतले बढे पनि व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म नेपालले १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए ।

समीक्षा अवधिमा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात भएको थियो । यस वर्ष आयात ३८.१८ प्रतिशतले बढेको हो ।

आयात र निर्यात दुवै बढ्दा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि भएर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

निर्यातमा वृद्धि भए पनि आयातको तुलनामा निर्यातको आकार निकै सानो रहेकाले व्यापार घाटा बढेको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष ३४.७१ प्रतिशतले बढेको छ ।

वनस्पति तेल निर्यातमा अग्रस्थानमा

नेपालको निर्यातमा वनस्पति तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ । समीक्षा अवधिमा ५९ अर्ब ३२ करोड रुपैयाँ बराबरको वनस्पति तेल निर्यात भएको छ । त्यसमध्ये भटमासको तेलको निर्यात मात्रै ५२ अर्ब ६० करोड रुपैयाँ बराबरको छ ।

यस अवधिमा धागोको निर्यात ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको भएको छ भने चिया, कफी तथा मसलाजन्य वस्तुको निर्यात ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गलैँचा तथा गलैँचाजन्य वस्तुको निर्यात ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको रहेको छ ।

आयातमा इन्धनको ठूलो हिस्सा

आयाततर्फ पेट्रोलियम पदार्थमा मात्रै करिब १ खर्ब १९ अर्ब रुपैयाँ खर्च भएको छ । वनस्पति तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा ६६ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, सवारीसाधन तथा तिनका कच्चा पदार्थ आयातमा ५३ अर्ब १९ करोड रुपैयाँ, मेसिनरी तथा पार्टपुर्जामा ४२ अर्ब ११ करोड रुपैयाँ र विद्युतीय उपकरणमा ४० अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ ।

तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत र निर्यातको हिस्सा १५.०२ प्रतिशत रहेको छ । निर्यात बढे पनि आयातमा उच्च निर्भरता कायम रहँदा नेपालको व्यापार घाटा चुनौतीका रूपमा देखिएको छ ।