सङ्खुवासभामा तीन दिन सतर्क रहन आग्रह, भारी वर्षाको सम्भावना


सङ्खुवासभामा भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले तीन दिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बुधबार सूचना जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म सतर्क रहन अनुरोध गरेका हुन्।

सम्भावित भारी वर्षाका कारण बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम हुन सक्ने भन्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।

प्रशासनले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान, रातिको समयमा लामो दूरीको यात्रा नगर्न र बाढीपहिरोको जोखिम देखिए सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

विशेषगरी मकालु आधार शिविर, मकालु राष्ट्रिय निकुञ्ज तथा उच्च हिमाली र पहाडी क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। साथै, पहिरोको जोखिम भएका स्थानमा नबस्न र मौसमसम्बन्धी पूर्वसूचनाको पालना गर्न प्रशासनले अनुरोध गरेको छ।