नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तय गर्ने भएको छ। पार्टीका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर अधिवेशनको मिति निर्धारण गरिने बताएका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले प्रदेश र जिल्लाको अधिवेशन गर्नुपर्ने भएकाले केन्द्रीय समितिमा छलफल गरेर मिति तय गर्ने बताए।
उनले भने, ‘हामीले केही समयपछि प्रदेशको अधिवेशन गर्नुपर्ने छ, जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छौँ।’
थापाले नेपालको इतिहासमा धेरै प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको यो पहिलो अधिवेशन भएको दाबी गरे। व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबैको साथ र सहयोगमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ थियो।
अधिवेशनबाट नेतृत्व चयन गर्नुका साथै पार्टीले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा भए पनि त्यसलाई जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने उनले बताए।
‘पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेछ। पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ। जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्ने चाहिँ गयो भन्ने जस्तो होइन,’ उनले भने।
प्रतिस्पर्धामा सहभागी नेताहरूले त्यसबाट अनुभव र सिकाइ प्राप्त गर्ने उल्लेख गर्दै थापाले उनीहरूको योग्यता, अनुभव र क्षमतालाई पार्टीको हितमा उपयोग गर्नुपर्ने बताए।
पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता हटाउनुपर्नेमा जोड दिँदै उनले प्रतिस्पर्धाका कारण एकअर्कासँग सहकार्य गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
थापाले पार्टीको अधिवेशनमा वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने परिपाटी अन्त्य गर्ने प्रयास गरिएको पनि बताए।

प्रतिक्रिया