एनपीएल खेल्न आएका फरहानलाई पाकिस्तानको बोलावट


नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन्। श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि पाकिस्तानले उनलाई बोलाएको कर्णाली याक्सले जनाएको छ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि फरहान पुनः एनपीएलमा फर्किने सम्भावना छ। उनको अनुपस्थितिमा कर्णालीले अर्को खेलाडी ल्याउने तयारी गरेको छ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीका लागि अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको घिमिरेले बताएका छन्। खेलाडीहरूले एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

घिमिरेका अनुसार पाकिस्तानी खेलाडीलाई एनपीएलमा ल्याउनुको उद्देश्य उनीहरूको खेल हेर्नुका साथै नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनु पनि हो। नेपाली क्रिकेट विकासकै चरणमा रहेका बेला प्रतियोगिता सुरु हुने समयमा थप रकम मागिनु दुःखद भएको उनले बताए।

कर्णालीले थप रकम तिरेर खेलाडीलाई एनपीएलमा सहभागी गराउने विषयमा समेत छलफल गरिरहेको थियो। तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने भएको हो। राष्ट्रिय टोलीको खेलपछि उनी पुनः कर्णालीमा आबद्ध हुने अपेक्षा गरिएको घिमिरेले बताए।

उनले यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिगार्ने विषयका रूपमा नलिएको पनि स्पष्ट पारे। भविष्यमा समेत पाकिस्तानी खेलाडी आवश्यक पर्ने भएकाले आपसी सम्बन्ध कायम राख्दै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ।

कर्णाली याक्सले फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ। फरहानको अनुपस्थितिमा केही समयका लागि अर्को खेलाडी ल्याउने तयारी भइरहेको घिमिरेले जानकारी दिए।