विवादित अडियोमा खगेन्द्र सुनारको लिखित इन्कारी, प्राविधिक जाँच गरिने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगमा लिखित इन्कारी पत्र बुझाएका छन्।

सुनार र एक महिलाबीच भएको भनिएको संवादबारे छानबिन गर्न गठित समितिलाई उनले उक्त आवाज आफ्नो नभएको बताएका हुन्। अनुशासन आयोगका उपप्रमुख तथा छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको लिखित इन्कारी पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

विवादित अडियो सार्वजनिक भएपछि सुनारले उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर बनाइएको दाबी गरेका थिए। प्रहरीमा भएको भ्रष्टाचारको विषय उठाएपछि आफूलाई लक्षित गरेर निरन्तर प्रहार भइरहेको उनको जिकिर छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोप झुटा भएको बताएका थिए।

सुनारले आरोप अस्वीकार गरेपछि छानबिन समितिले स्वतन्त्र प्रमाण जुटाउने प्रक्रिया अघि बढाएको छ। समितिले अडियो प्रसारण गरेको जनआस्था पत्रिकाबाट सम्पादनअघिको अडियो प्राप्त गरिसकेको छ। त्यस्तै, पीडित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्युज २४ लाई पत्राचार गरिएको छ।

समितिका संयोजक भट्टराईका अनुसार प्राप्त अडियोको आन्तरिक परीक्षण गरिनेछ। त्यस क्रममा जटिलता देखिए सम्बन्धित निकायमार्फत प्राविधिक जाँच गराइनेछ। प्राविधिक परीक्षणपछि सुनारसँग सोधपुछ गरिने र परीक्षणमा लाग्ने समयअनुसार छानबिनको अवधि निर्धारण हुने उनले बताएका छन्।

विवादित अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको थियो।