काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । दसैँ बिदाका कारण नयाँ मूल्य सार्वजनिक नभएकाले सोमबारपछि आइतबार मात्रै सुनको नयाँ मूल्य निर्धारण गरिएको हो ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ । गत सोमबार प्रतितोला ४ हजार १८५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाली बजारमा सुनको मूल्य गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च रहेको बताइएको छ । सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि गत माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो । चाँदीको मूल्यमा एकैदिन भएको उक्त गिरावट पनि हालसम्मकै उच्च गिरावटका रूपमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया