बिहीबारदेखि वर्षा बढ्ने सम्भावना, २९ जिल्लामा बढी जोखिम


बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। प्रारम्भिक आकलनअनुसार मनाङसहित २९ जिल्लामा वर्षाको जोखिम बढी हुन सक्ने देखिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार उक्त प्रणालीको प्रभावले तीनदेखि चार दिनसम्म वर्षा हुन सक्नेछ। केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताएका छन्।

भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने अनुमान गरिएको उक्त प्रणालीको प्रभाव बिहीबार रातिदेखि थप बढ्न सक्ने पूर्वानुमान छ।

प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने अनुमान गरिएको छ।

२९ जिल्लामा बढी जोखिमको आकलन

मौसमविद् पोखरेलले सार्वजनिक गरेको जोखिम नक्साअनुसार कात्तिक १२ देखि १५ गतेसम्म केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ। यद्यपि, वर्षाको मात्रा र जोखिममा पर्न सक्ने क्षेत्रबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

पोखरेलका अनुसार हालको पूर्वानुमान प्रारम्भिक भएकाले मौसमी प्रणालीको मार्ग, वर्षाको मात्रा र बढी जोखिममा पर्ने जिल्लाहरू परिवर्तन हुन सक्छन्।

तीन मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने

पोखरेलका अनुसार नेपालमा आगामी दिनमा तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने देखिएको छ। दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ। यसका कारण दक्षिण भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ।

त्यस्तै, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली नेपालमा वर्षा गराउन सक्ने प्रमुख प्रणालीका रूपमा देखिएको छ। यसबाहेक पश्चिमी वायुको प्रभावसमेत कायम रहेकाले वर्षाको सम्भावना थप बढ्न सक्ने उनको विश्लेषण छ।

नेपालमा भारी वर्षा हुन बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावासँगै माथिल्लो वायुमण्डलको अवस्थाले पनि भूमिका खेल्न सक्ने उनले बताएका छन्।

मनाङसहित हिमाली क्षेत्रमा सतर्कता आवश्यक

मौसमविद् पोखरेलले मनाङसहित हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्। प्रारम्भिक पूर्वानुमानमा मनाङ क्षेत्रमा समेत भारी वर्षाको सम्भावना देखिएकाले त्यहाँको मौसमलाई गम्भीरतापूर्वक अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ छ।

सम्भावित वर्षाका कारण तराईका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्ने मौसमविद्हरूले बताएका छन्। विशेषगरी बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधिमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।

धान नकाट्न र लामो दूरीको यात्रा नगर्न सुझाव

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीमा विकसित प्रणाली थप सक्रिय हुँदै भारतको ओडिशा र बिहार हुँदै नेपालतर्फ अघि बढ्न सक्ने सम्भावना छ। यसका कारण हिमाली क्षेत्रमा भारी हिमपात तथा पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुन सक्ने उनको भनाइ छ।

उनले दशैँपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबार लामो दूरीको यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान सुझाव दिएका छन्। त्यस्तै, बिहीबारदेखि शनिबारसम्म धान काट्ने योजना बनाएकाहरूलाई पनि काम स्थगित गर्न उनले आग्रह गरेका छन्।

अर्का मौसमविद् उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा नगर्न, बाली काट्ने तथा भित्र्याउने काम रोक्न र पदयात्रामा नजान सुझाव दिएका छन्। यात्राका क्रममा विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

मौसमविद्हरूले मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा सम्भावित वर्षा, डुबान, पहिरो र हिमपातबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।