ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनको तयारी


ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनको तयारी गरिएको छ। निर्माण अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, सञ्चालनमा आउने निश्चित मिति भने सार्वजनिक भएको छैन।

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको उक्त पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा बनाइएको हो। २०८० फागुनमा निर्माण सुरु गरिएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमै काम पूरा हुन सकेन।

पुलको दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ। लिफ्टसहितको संरचनाले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

व्यस्त चक्रपथमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउन र सम्भावित दुर्घटनाको जोखिम कम गर्न पुल निर्माण गरिएको हो। लिफ्टको सुविधासमेत रहेकाले यसले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।