आज विश्व सूचना दिवस

डिजिटल युगमा सही सूचना र नागरिकको अधिकारमा जोड


सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस यस वर्ष डिजिटल युगमा सूचनाको विश्वसनीयता कायम राख्ने र गलत तथा भ्रामक सूचनाको सामना गर्ने विषयमा केन्द्रित छ।

यस वर्षको नारा ‘डिजिटल युगमा सूचनाको विश्वसनीयता कायम राख्ने : सूचना विकृतिको सामना गर्न सूचनामा पहुँचको भूमिका’ तय गरिएको छ। सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको तीव्र विकाससँगै फैलिने गलत सूचना र दुष्प्रचारलाई न्यूनीकरण गर्न विश्वसनीय सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को र सियरा लियोन सरकारको संयुक्त आयोजनामा आजदेखि सेप्टेम्बर ३० सम्म सियरा लियोनको लुङ्गीमा तीनदिने विश्व सम्मेलन आयोजना गरिएको छ। सम्मेलनमा सूचनाको हक, डिजिटल प्रविधि, सार्वजनिक निकायको पारदर्शिता र सूचना विकृतिको सामना गर्ने उपायबारे छलफल हुने कार्यक्रम छ।

युनेस्कोले सन् २०१५ मा सेप्टेम्बर २८ लाई सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो। त्यसपछि सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यसलाई अन्तर्राष्ट्रिय मान्यता दिएको हो।

नेपालमा संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गरेको छ। सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत कार्यान्वयनमा छन्। तर कानुनी व्यवस्था भए पनि ग्रामीण क्षेत्र, सीमान्तकृत तथा पिछडिएका समुदायसम्म सूचनाको हकबारे पर्याप्त जनचेतना पुग्न नसकेको राष्ट्रिय सूचना आयोगले जनाएको छ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचन्दले तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा सूचनाको हकलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। महासङ्घले सूचनाको हकलाई स्थानीय तहसम्म विस्तार गर्न जनचेतना तथा अन्तर्क्रियाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

त्यस्तै, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले राष्ट्रिय सूचना आयोगमा शीघ्र पदाधिकारी नियुक्तिको वातावरण बनाउन ध्यानाकर्षण गराउँदै रचनात्मक कार्यक्रमसहित दिवस मनाउन लागिएको जानकारी दिएका छन्।

डिजिटल प्रविधिको विकासले सूचनाको पहुँचलाई सहज बनाए पनि गलत र भ्रामक सूचनाको प्रसारले नयाँ चुनौती थपेको छ। यस्तो अवस्थामा सार्वजनिक निकायबाट समयमै सही सूचना प्रवाह, तथ्य जाँच र नागरिकमा डिजिटल साक्षरता अभिवृद्धि गर्नुपर्ने आवश्यकता यस वर्षको दिवसले औँल्याएको छ।