युक्रेनका पूर्वरक्षामन्त्री फेदोरोभको आरोप : ‘जेलेन्स्कीसँग भ्रष्टाचारबारे जवाफ मागिनुपर्छ’

नुतन श्रेष्ठ
0
Shares

युक्रेनका बर्खास्त रक्षामन्त्री मिखाइलो फेदोरोभले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सरकारभित्रको भ्रष्टाचारबारे जवाफ मागिनुपर्ने बताएका छन्।

बीबीसीसँगको अन्तर्वार्तामा फेदोरोभले राष्ट्रपति जेलेन्स्कीको निकट समूहमा भ्रष्टाचार भइरहेकोबारे उनी जानकार थिए कि थिएनन् भन्ने प्रश्न उठाएका हुन्।

फेदोरोभलाई गत महिना रक्षामन्त्रीको जिम्मेवारीबाट हटाइएको थियो। लोकप्रिय नेताका रूपमा रहेका उनले युक्रेनी सेनाको आधुनिकीकरण तथा ड्रोन प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका थिए।

उनको बर्खास्तगीपछि समर्थकहरूले राजधानी किभमा नियमित प्रदर्शन गर्दै पुनः जिम्मेवारीमा फर्काउन माग गरेका थिए। तर नयाँ रक्षामन्त्री नियुक्त भएपछि ती प्रदर्शन रोकिएका छन्।

फेदोरोभले पछिल्लो समय युक्रेनमा निर्वाचन हुनुपर्ने विषयसमेत उठाएका छन्। रूसले सन् २०२२ मा पूर्ण सैन्य आक्रमण गरेपछि युक्रेनमा मार्सल ल लागू भएकाले निर्वाचन स्थगित छ।

उनले निर्वाचनबारे बहस गर्न आफूलाई ‘नैतिक अधिकार’ रहेको भन्दै लोकतन्त्रमा निर्वाचन हुनैपर्ने बताएका छन्। निर्वाचन नै नहुने अवस्था लामो समय कायम रहे युक्रेन लोकतान्त्रिक देश नरहने उनको भनाइ छ।

फेदोरोभले भ्रष्टाचारसम्बन्धी पछिल्लो अनुसन्धानले पनि सरकारमाथि प्रश्न उठाएको बताएका छन्। युक्रेनको भ्रष्टाचारविरोधी निकायले पूर्वऊर्जामन्त्रीलाई जमानत दिलाउन ३० लाख डलरभन्दा बढी रकम दुरुपयोग गर्न खोजिएको आरोपमा अनुसन्धान अघि बढाएको छ। यस प्रकरणमा जेलेन्स्कीको कार्यालयका एक वरिष्ठ अधिकारीलाई समेत बर्खास्त गरिएको थियो।

फेदोरोभले जेलेन्स्की व्यक्तिगत रूपमा भ्रष्टाचारमा संलग्न भएको कुनै प्रमाण आफूले नपाएको स्पष्ट पारेका छन्। जेलेन्स्कीसँग काम गर्दा आफूलाई कानूनविपरीत काम गर्न कुनै निर्देशन नदिइएको उनको दाबी छ।

यद्यपि, सरकारभित्रको भ्रष्टाचारबारे राष्ट्रपति स्वयंले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ।

यसैबीच फेदोरोभले तत्काल आफू राष्ट्रपतिको निर्वाचनमा उठ्ने योजना नरहेको बताए पनि भविष्यमा उम्मेदवारी दिने सम्भावनालाई भने अस्वीकार गरेका छैनन्।

रक्षामन्त्रीका रूपमा फेदोरोभले युक्रेनको युद्ध रणनीतिमा ड्रोन प्रविधिको प्रयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनले आगामी दिनमा पनि युक्रेनको रक्षा प्रविधि विकासमा काम गर्ने बताएका छन्।