रास्वपाले ६ पदाधिकारी मनोनीत गर्‍यो, बालेन पक्षबाट कोही परेन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ जना नयाँ पदाधिकारी मनोनीत गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई मनोनीत गरेको हो।

बैठकले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ता र डा. मनोहर प्रधानलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ।

त्यस्तै, जेनजी युवा पुरुषोत्तम यादवलाई सहमहामन्त्री, सुरेन्द्र चौधरी र नमिता यादवलाई सहप्रवक्ता तथा बसुमाया तामाङलाई सहकोषाध्यक्षमा मनोनीत गरिएको छ।

मनोनीत ६ जना नै रास्वपाको संस्थापन पक्षनिकट रहेको बताइएको छ। प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह पक्षबाट भने कुनै पनि नाम मनोनयनमा परेको छैन।

रास्वपामा अझै एक उपसभापति र एक महामन्त्री पदमा मनोनयन हुन बाँकी छ। बालेन पक्षबाट नाम नआएका कारण ती दुई पद तत्कालका लागि रिक्त राखिएको बताइएको छ।

पार्टीभित्र रवि लामिछाने र बालेन शाहबीच नेतृत्व तथा जिम्मेवारी बाँडफाँटलाई लिएर चर्चा भइरहेका बेला संस्थापन पक्षबाट मात्रै पदाधिकारी मनोनयन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।