पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी


नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा, चुनाव चिह्न र अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई चेतावनी दिएको छ। यस्तो गतिविधि नरोकिए पार्टीको विधान र प्रचलित कानुनअनुसार कारबाही गर्ने कांग्रेसले निर्णय गरेको छ।

केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले केही व्यक्ति तथा समूहले नेपाली कांग्रेसको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा र चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताए।

उनका अनुसार यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै पार्टीका सदस्य, शुभेच्छुक तथा आम नागरिकमा भ्रम सिर्जना गरिरहेको छ।

कांग्रेसले पार्टीको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीक प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न र त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रस्तुत वा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

निर्णयको उल्लङ्घन गरी पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने महामन्त्री पौडेलले बताए।