राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि प्रदेशको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन् ।
सुर्खेतमा आयोजित रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने स्पष्ट पारेका हुन् ।
उनले कर्णालीले रास्वपाका उम्मेदवारलाई मत दिए पनि नदिए पनि प्रदेशको विकासमा सरकारले ध्यान दिने बताए । ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहने छ,’ उनले भने ।
लामिछानेले कर्णालीसँग विकासका नाममा राजनीतिक सौदाबाजी नगर्ने पनि बताए । आफ्ना उम्मेदवारलाई जिताए मात्रै विकास गर्ने वा पुल र सडक निर्माण गरिदिने आश्वासन दिएर मत माग्ने राजनीति रास्वपाले नगर्ने उनको भनाइ थियो ।
‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं । हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने राजनीति गर्न आएका होइनौं,’ उनले भने ।
उनले राजनीति निर्वाचनका लागि मात्रै नभएको उल्लेख गर्दै चुनावलाई राजनीतिक प्रक्रियाको एउटा हिस्सा मात्र भएको बताए । कर्णालीका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रदेशका जनताको आवाज सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
यसैबीच, लामिछानेले कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गरेका छन् । अन्य प्रदेशको तुलनामा कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित गराएर संसद्मा प्रतिनिधित्व गराउन नसकेको र पार्टीको आवाज दूरदराजसम्म पुर्याउन नसकेको उनले बताए ।

प्रतिक्रिया