बालेनको भारत भ्रमणमा २४ बुँदे सहमति, के–के भए सम्झौता?


प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विकास साझेदारी, ऊर्जा, पूर्वाधार, यातायात तथा शिक्षालगायतका क्षेत्रमा सहमति भएको छ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय वार्तापछि सोमबार २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको हो। भ्रमणका क्रममा विभिन्न क्षेत्र समेटिएका आठवटा समझदारीपत्र (एमओयू) आदानप्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।

दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अघि सारेका छन्। भारतले नेपाललाई कुल १५ हजार करोड भारु अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

उक्त सहयोगमध्ये रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारु अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारु सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको पनि स्वागत गरिएको छ।

दुई देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका छन्। यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, बुद्ध तथा शिव–शक्ति पर्यटन सर्किट विकासका लागि पनि सहकार्य गर्ने सहमति भएको छ।

पूर्वाधार तथा यातायाततर्फ प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा समेत सहकार्य गर्ने सहमति भएको छ।

त्यस्तै, काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित दीनदयाल बन्दरगाहबाट नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने तथा पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहसम्म पहुँच विस्तार गर्ने सहमति पनि भएको छ।

सीमापार सम्पर्क विस्तारअन्तर्गत दार्चुला र भारतको धार्चुला जोड्ने नयाँ मोटरेबल पुल उद्घाटन गरिएको छ। भारतको वनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ भने भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि जनाएका छन्।

ऊर्जा क्षेत्रतर्फ ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुङ्ग्याएर कार्यान्वयन अघि बढाउने तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माणलाई तीव्रता दिने सहमति भएको छ।

त्यस्तै, इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली उच्च क्षमताका विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम गठन प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि जनाएका छन्।

पेट्रोलियम पूर्वाधारतर्फ मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ। झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास गर्दै सिलिगुडी–झापा पाइपलाइनको काम अघि बढाउने सहमति भएको छ। साथै, दुई देशबीच ग्यास पाइपलाइन निर्माणको सम्भावनाबारे अध्ययन गर्ने पनि सहमति भएको छ।

शिक्षा तथा प्रविधिको क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति भएको छ। त्यस्तै, स्टार्टअप, डिजिटल तथा वित्तीय सम्पर्क सञ्जाल विस्तार गर्ने र एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवा सहज रूपमा उपलब्ध गराउने विषयमा पनि सहमति जुटेको छ।

सीमा व्यवस्थापनतर्फ सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै बाँकी सीमा समस्याबारे काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ।

भ्रमणका क्रममा आदानप्रदान गरिएका आठ समझदारीपत्रमा विधि विज्ञान तथा प्रहरी अनुसन्धान, सुरक्षा तथा प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसियाली भू–उपग्रहको उपयोग, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी विषय समेटिएका छन्।

दुई दिने भारत भ्रमणका क्रममा भएका यी सहमतिले नेपाल–भारतबीच आर्थिक, पूर्वाधार, ऊर्जा, शिक्षा तथा प्राविधिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।