समझदारीको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्छ : प्रधानमन्त्री बालेन


प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल र भारतबीच भएका समझदारी तथा अघि बढाइएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहले दुई देशबीच भएका समझदारी किसान, युवा, विद्यार्थी र उद्यमीको जीवनमा देखिनुपर्ने बताएका हुन्।

उनले समझदारीको प्रतिफल किसानको खेतमा समृद्धि, युवाका हातमा रोजगारी र अवसर तथा विद्यार्थीका लागि नयाँ सम्भावनाका रूपमा पुग्नुपर्ने बताए। त्यस्तै, उद्यमीले नयाँ बजार, लगानी र व्यावसायिक विस्तारका अवसर प्राप्त गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक आधारमा थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताए।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा छलफल भएको जानकारी दिँदै उनले विभिन्न क्षेत्रमा समझदारी हुनुका साथै पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यास गरिएको उल्लेख गरे।

नेपाल–भारत सम्बन्ध भगवान् राम र माता जानकीको समयदेखि ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको बताउँदै शाहले सम्बन्धलाई थप जीवन्त बनाउन अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिएको जानकारी दिए।

उनले नेपालमा साझा आर्थिक समुन्नतिका लागि भारतीय लगानीकर्तालाई स्वागत गर्दै नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने धारणा राखे। साथै, दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।

पत्रकार सम्मेलनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल बगोस् भन्ने कामना गर्दै दुवै देशको समृद्धिको शुभकामना व्यक्त गरे।