दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। ओपनर स्कट कुगलेइनले ६ र विनोद भण्डारीले १ रन बनाए। त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डेले खाता खोल्न सकेनन्। दुवैलाई काठमाडौंका सन्तोष यादवले आउट गरे।

प्रारम्भिक ब्याटरहरू सस्तैमा आउट भएपछि कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले टोलीको इनिङ्स सम्हाले। शेखले २५ बलमा १६ रन बनाए। उनी रनआउट भएपछि सुदूरपश्चिम पुनः दबाबमा परेको थियो।

कप्तान ऐरीले भने अर्धशतकीय पारी खेले। उनले ६० रनको योगदान दिए। यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रन बनाए।

बलिङतर्फ काठमाडौंका जहानदाद खानले सर्वाधिक तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे।