नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी रहँदै प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाउँदै यसलाई सुशासन नभई शक्ति प्रदर्शनको संज्ञा दिएका छन्। उनले प्रहरी प्रमुखको बर्खास्तीदेखि अनुसन्धानका लागि बरामद मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयसम्म सरकारसँग जवाफ मागेका छन्।
आङ्देम्बेले अनेक तानाबाना र षड्यन्त्र बुनेर प्रहरी प्रमुख हटाउनु गलत भएको टिप्पणी गरेका छन्। देशमा बाढीपीडितको समस्या, विस्थापित सुकुम्वासीको अवस्था र बढ्दो महँगीजस्ता विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा आईजीपी हटाउन केन्द्रित भएको उनको आरोप छ।
उनले भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीबाट नागरिक पीडित रहेको, विस्थापित सुकुम्वासीको अवस्था दयनीय रहेको र महँगीले जनजीवन आक्रान्त बनाएको उल्लेख गर्दै अहिले देशको राष्ट्रिय आवश्यकता प्रहरी प्रमुख परिवर्तन गर्नु हो भन्दै प्रश्न गरेका छन्।
‘वर्तमान सरकारको प्राथमिकता १७ महिना कार्यकाल बाँकी भएका प्रहरी प्रमुख (आईजीपी) लाई हटाउनेमा केन्द्रित भयो। के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन्। विस्थापित सुकुम्वासीको बेहाल छ। महँगीले जनजीवन आक्रान्त छ। देश गम्भीर सङ्कटतिर फस्दैछ,’ उनले भनेका छन्।
प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने पनि उनको माग छ।
सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताएको तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताले पार्टीको निर्देशन नभएको बताएको उल्लेख गर्दै आङ्देम्बेले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन्।
‘उसो त सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो?’ उनले प्रश्न गरेका छन्।
यसैगरी, अनुसन्धानका लागि प्रहरीले बरामद गरेको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि उनले गम्भीर रूपमा उठाएका छन्।
‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो? मोबाइलमा भएको के मेटाउनु थियो?’ भन्दै उनले उक्त घटनाबारे प्रश्न गरेका छन्।
जनताले सरकारलाई दिएको मत सत्ता र शक्तिको दुरुपयोग गर्न तथा प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्नका लागि नभएको उनको भनाइ छ।
जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको उल्लेख गर्दै उनले त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र नागरिकको जीवनस्तर सुधार्नका लागि भएको बताएका छन्।
‘जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएका हुन्। त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि हो। सत्ता शक्तिको दुरुपयोग गर्न र प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न होइन,’ उनले भनेका छन्।
उनले आईजीपी हटाउने निर्णयलाई गलत भन्दै दोहोर्याएका छन्, ‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो।’

प्रतिक्रिया